घरमै बसेर विदेशमा व्यापार
१५ माघ (बागलुङ)
दशकअघि जापान गएकी मीना सापकोटा अहिले पनि बागलुङबाट बुटिक भरेका कपडा मगाउँछिन् । जापानमा बस्ने अन्य नेपाली र जापानी युवतीका लागि समेत उनले कपडा मगाउने गरेकी छन् । यहाँकी सन्ध्या राजभण्डारीले तयार पारेर सामान पठाइदिन्छिन् ।
अनलाइनबाटै ‘अर्डर’ लिने राजभण्डारीले कुरियरमार्फत विदेशमा कपडा निर्यात गरेर गज्जबको आम्दानी गर्दै आएकी छन् । बागलुङ नगरपालिका–२ की ३३ वर्षीया राजभण्डारीले एक दशकअघि बुटिकका सामान बनाएर देशभित्रै बेच्थिन् । पछिल्लो ५ वर्षदेखि उनको व्यापार अनलाइनमा परिणत भएको छ ।
सुरुमा आफन्तमार्फत फाट्टफुट्ट विदेशमा सामान पठाएकी राजभण्डारीले अहिले व्यावसायिक उत्पादन थालेकी हुन् । सदरमुकामको बाघचोक नजिकै उनको पसल छ । घरको एक कोठामा कपडाको काम गरिरहेकी राजभण्डारीले माग बढेपछि व्यवसाय विस्तार गरेकी छन् । सुन पसल छाडेर श्रीमान् उमेशले पनि श्रीमतीलाई साथ दिएका छन् ।
इन्टरनेटको माध्यमबाट काम गर्दा राजधानी वा ठूलो सहरमा बस्नुपर्ने बाध्यता नभएको उनले सुनाइन् । ‘ग्राहक भेट्न महँगो सटर भाडामा लिनु पर्दैन,’ उनले भनिन्, ‘काम गुणस्तरको गर्न सकियो भने विश्वास जित्न सकिने रहेछ ।’ जापानमा बस्ने आफन्तबाट अर्डर लिन थालेपछि उनको व्यवसाय बढ्दै गयो । अहिले अस्ट्रेलिया, युरोप र अमेरिकामा बस्ने नेपाली र त्यहीँका नागरिकले पनि सामान अर्डर गरिरहेका हुन्छन् । उनको पसलमा अहिले ६ हजारदेखि ६५ हजार रुपैयाँसम्म पर्ने लेहेङ्गा छन् ।
आमाबाबुबाटै सिलाइ जानेकी राजभण्डारीले काठमाडौंको कुपण्डोलमा ३ महिना डिजाइनको तालिम लिएकी थिइन् । त्यसपछि लेडिज सामान उत्पादन गरेर केही समय सदरमुकाममै विक्री गर्दागर्दै उनले जापान र अस्ट्रेलिया गएका छिमेकीलाई पठाउन थालिन् ।
अहिले उनको पसल देखेर आउनेभन्दा चार गुणा बढी विदेशबाटै अर्डर हुने गर्छ । सात जनालाई रोजगारीसमेत दिएकी छन् । सातामा डेढ लाखदेखि तीन लाख रुपैयाँसम्मको कारोबार गर्दै आएको उनले बताइन् । आफैले मेहनत गरेकाले कम्तीमा २० देखि ३० प्रतिशत नाफा निकाल्न सकेको उनको भनाइ छ । यो पेशाबाट सिजन गयो भनेर कहिले पनि खाली हात बस्नु नपरेको उनको अनुभव छ ।