गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न सुदूरपश्चिमबाट संयुक्त दबाब

गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न सुदूरपश्चिमबाट संयुक्त दबाब

धनगढीः सुदूरपश्चिम प्रदेशका स्वास्थ्य संस्थाहरुमा रहेको जनशक्ति अभावको पदपूर्तिका लागि कैलालीको गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न माग गरिएको छ। प्रदेशको स्वास्थ्य क्षेत्रको विकास तथा जनशक्ति व्यवस्थापनका लागि गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयको प्रारुपमा सञ्चालन गर्न माग गरिएको हो। 

बुधबार कैलाली उद्योग वाणिज्य संघको पहलमा आयोजित सर्वदलीय, सर्वपक्षीय छलफलमा सहभागीहरुले प्रस्तावित मेडिकल कलेजलाई तत्काल सञ्चालनमा ल्याउन एकजुट भएर केन्द्रलाई दबाब दिने सहमति गरेका हुन्। गेटामा मेडिकल विद्यालय सञ्चालनका लागि भौतिक संरचना तयार पारेका बेला राजनीतिक दल, भातृ संगठन, नागरिक समाज, स्वास्थ्य क्षेत्रका जानकारहरुले संयुक्त रुपमा मेडिकल विश्वविद्यालय सञ्चालनका लागि सयुक्त रुपमा दबाब दिने बताइएकाे छ। 

मेडिकल विश्वविद्यालय सञ्चालनमा आए सुदूरपश्चिमको आवश्यकताका आधारमा पाठ्यक्रम निर्माण तथा अध्ययन, अध्यापन, अन्य स्वास्थ्य संस्थाहरुलाई विभाग तथा मातहतको संस्थाका रुपमा विकास गर्दै दक्ष जनशक्ति उत्पादान गर्न सकिने स्वास्थ्य क्षेत्रका जानकारहरुले बताएका छन्। गेटा मेडिकल कलेज निर्माण समितिका अध्यक्ष चेतराज पन्तले कर्मचारीको पदपूर्तिका लागि पनि मेडिकल विश्वविद्यालय उपयूक्त हुने बताए। 

सुदूरपश्चिम प्रदेशका स्वास्थ्य संस्थामा आधा दरबन्दी पनि पदपूर्ति भएको छैन। अन्य प्रदेशबाट सुदूरपश्चिममा स्वास्थ्यकर्मी आउन नमान्ने समस्या छ। प्रदेशमै स्वास्थ्य विश्वविद्यालय सञ्चालन भए प्रयोगात्मक अध्ययनका लागि जनशक्तिसहितको समूहलाई स्वास्थ्य संस्था तथा जिल्ला अस्पतालमा पठाउन सकिने छ। सेती प्रादेशिक अस्पतालका पूर्व मेसु डाक्टर गणेशबहादुर सिंहले सुदूरपश्चिमका लागि मेडिकल विश्व विद्यालय आवश्यक हुने बताए। 

नेपालमा हालसम्म मेडिकल विश्वविद्यालय सञ्चालनमा आएको छैन। मेडिकल विश्वविद्यालय सञ्चालनका लागि कानुनको समेत अभाव छ। तर पहिले विश्वविद्यालय सञ्चालनका लागि दबाब दिन समूह गठन गरिने भएको छ। मेडिकल कलेज र प्रतिष्ठानभन्दा विश्वविद्यालय उपयुक्त हुने भएकाले दबाब दिन संयुक्त समूह गठन गरिने उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले बताए।