गाउँपालिका अध्यक्ष विरुद्ध भ्रुण हत्या मुद्दा
पक्राउ गर्न आदेश
२३ माघ (ताप्लेजुङ)
पाँचथरको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङसहित ७ जनाविरुद्ध दबाब दिएर भु्रणहत्या गर्न लगाएको भन्दै किटानी जाहेरी दर्ता भएको छ । मेगा बैंकको त्यहाँस्थित शाखामा कार्यरत कर्मचारीसँग प्रेम विवाह गरेपछि रहेको गर्भ दबाब दिएर पतन गराइएको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा बिहीबार जाहेरी दिएकी हुन् ।
जाहेरी परेलगत्तै पाँचथर जिल्ला अदालतबाट अध्यक्षसहित प्रतिवादी सातैजनालाई पक्राउ गर्न आदेश लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख सिद्धराज न्यौपानेले बताए । जाहेरी पर्नु पहिल्यैदेखि अध्यक्ष चेम्जोङ सम्पर्क बाहिर छन् ।
अनुसन्धान प्रक्रियामा प्रभाव पर्ने भन्दै प्रहरीले अन्य प्रतिवादीको नाम गोप्य राखेको छ । दलित समुदायकी ती युवतीले क्षेत्री समुदायका बैंक कर्मचारीसँग गत साउनमा मन्दिरमा गएर विवाह गरेको र त्यसपछि रहेको २१ साताको गर्भ गाउँपालिका अध्यक्षको दबाबमा पतन गर्न बाध्य बनाइएको जाहेरीमा उल्लेख गरेकी छन् ।
दलित किशोरीसँग विवाह गरेका ती कर्मचारीका अभिभावक र आफन्तको आग्रहमा पालिका अध्यक्ष चेम्जोङले धम्की दिएर भ्रुण हत्या गर्न वाध्य बनाएको दाबी गरिएको छ । मुद्दामा किशोरीले आफ्ना श्रीमान, अभिभावक र स्वास्थकर्मीसम्मलाई विपक्षी बनाएकी छन् ।