गठबन्धनको समीक्षा गर्नेछौं : माधव नेपाल
काठमाडौँ — नेकपाएकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनले गरेको प्रदर्शनका विषयमा पार्टीभित्र समीक्षा गर्ने बताएका छन् । मंगलबार २९ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा एकीकृत समाजवादीले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको विषयमा समीक्षा गरिने बताएका हुन् । उनको पार्टीले अपेक्षा गरे अनुसार मत परिणाम नआएको भन्दै गठबन्धनका घटकले नै आफूहरूसँग सहकार्य गर्न नचाहेको बताएका छन् । हाम्रो पार्टी निर्माणका सवालमा हामीले गम्भीर छलफल चलाउनुपर्ने आवश्यकता छ । हामी निर्वाचनको पनि गम्भीर समीक्षा गर्नेछौं । गठबन्धनको पनि समीक्षा हामी गर्नेछौँ नेपालले भने, समीक्षा गरेर कहाँ राम्रो भयो, कहाँ त्रुटी गर्यौं र आगामी दिनमा हामीले के कुरामा होस गर्नुपर्ने हो । त्यस हुनाले हामीले अहिलेसम्मको निर्वाचनको परिणाम अवश्यपनि हाम्रो पार्टीले प्राप्त गर्नुपर्ने जति छैन होला । स्थानीय तहमा ५ सय सदस्य, एक सय वडा अध्यक्ष जित्ने स्थितिमा पार्टी पुगेको नेपालको भनाइ थियो । उनले झन्डै १५, २० जना पालिकाका प्रमुख, उपप्रमुख जित्ने स्थिति बनेको बताएका छन् ।