को हुन् नेपाल प्रहरीका २८औँ आईजीपी थापा ?

को हुन् नेपाल प्रहरीका २८औँ आईजीपी थापा ?

२३ असार, (काठमाण्डौं)
सरकारले २८औँ प्रहरी महानिरीक्षक (आईजीपी)को रुपमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी थापा क्षेत्रीलाई नेपाल प्रहरीको २८औँ आईजीपीका रुपमा नियुक्त गर्ने निर्णय गरेको हो।
आगामी २०७९ साल वैशाख १९ गते अर्थात २२ महिनाको लागि नेपाल प्रहरीको नयाँ आईजीपीका रुपमा थापाले संगठनको प्रमुखका रुपमा सम्हाल्ने भएका छन् ।
को हुन् शैलेश थापा ?
२०४९ साल वैशाख १९ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका थापा २०५८ सालमा २ नम्बरमा प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका थिए। उनी २०६६ साल पुस २० गते तेस्रो नम्बरमा प्रहरी उपरीक्षक (एसपी) बढुवा भएका थिए।
वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हुँदा भने थापा पहिलो नम्बरमा २०७४ साउन १९ गते बढुवा सूचीमा परे। २०७५ असोज २० गते सरकारले ११ जना डीआईजीको बढुवा सूची निकाल्यो जसमा अहिलेका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली अगाडी भए भने थापा छैटौं नम्बरमा बढुवा भएका थिए ।
५ महिना अगाडि एआईजीमा बढुवा हुँदा थापालाई दोस्रो नम्बरमा र हरिबहादुर पाललाई तेस्रो नम्बरमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा परेपछि उनले आईजीपीको यात्रा पक्कापक्की गरेका थिए ।
थापाले आफ्नो सेवामा धेरै फिल्डमा कमाण्ड गरेका भने छैनन्। इन्स्पेक्टर हुँदा सिन्धपाल्चोक मात्र काम गरेका थापा अधिकांश समय प्रहरी प्रशिक्षण प्रतिष्ठान र महानिरीक्षकको सचिवालयमा काम गरेका थिए।
यस्तै डीएसपी हुँदा धादिङ, एसपी हुँदा कास्की र झापाको नेतृत्व गरेका थिए। डीआईजी हुँदा प्रहरीको केन्द्रीय प्रवक्ता भएका थापाले एउटा कार्यकाल महानगरीय प्रहरी कार्यालयको नेतृत्व सम्हालेका थिए। एआइजी भएपछि मानव स्रोत एवं प्रशासन विभागमा कार्यरत थिए ।
उनी युएन मिसनका दौरान बोस्निया, पूर्वी टिमोर र सुडान गएका थिए। सेवा अवधिको समयमा कुनै दाग नलागेका थापा व्यवसायिक प्रहरी अधिकृतको रुपमा चिनिँदै आएका छन् ।