कोरोना नदेखिएका ९ देश

कोरोना नदेखिएका ९ देश

२० चैत (काठमाडौ)
विश्वव्यापी महामारीको रुपमा लिएको कोरोनाभाइरस संसारभरि फैलिरहँदा ९ वटा देशमा मात्र अहिलेसम्म देखिएको छैन । तर ती देशका छिमेकीहरूमा कोरोना देखिएको छ ।
अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले तयार पारेको विश्वभरिका केसको डेटाबेसमा यी नौ देश अहिलेसम्म सुरक्षित पाइएका हुन् । तर व्यापक मात्रामा स्वास्थ्य परीक्षणहरू नगरिएकाले पनि ती देशमा कोरोना नदेखिएको हुन सक्छ ।
तुर्कमेनिस्तान
मध्य एसियामा रहेको तुर्कमेनिस्तानमा कोरोनाभाइरस शब्दमा नै प्रतिबन्ध लगाइएको छ । त्यहाँ मास्क लगाएर घुम्ने र महाव्याधिको कुरा गर्नेलाई प्रहरीले पक्राउ गरेर जेल पठाइरहेको छ ।
ताजिकिस्तान
मध्य एसियाकै अर्को देश ताजिकिस्तानले मार्च महिनाको आरम्भमै ३५ देशका नागरिकलाई आफ्नो देश पस्न दिएको थिएन । अहिले उसले सबै विदेशी नागरिक अनि विदेशमा रहेका आफ्ना नागरिकलाई समेत निको नभई आउन दिएको छैन ।
उत्तर कोरिया
चीनको छिमेकी उत्तर कोरियामा पनि कोरोनाभाइरस देखिएको छैन । चीनमा कोरोना फैलिनेबित्तिकै उत्तर कोरियाले आफ्ना सीमानाका बन्द गरिदिएको थियो । त्यसै पनि विदेशी नागरिकहरू उत्तर कोरिया खासै जाँदैनन् ।
दक्षिण सुडान
यस देशको जनसंख्या १ करोड ११ लाख छ र यहाँ पनि कोरोना देखिएको छैन । देशका सबै सीमाहरू बन्द गरिएका छन् । कसैलाई पनि भित्र आउन वा बाहिर जान दिइएको छैन । देशभित्रको जनजीवन सामान्य छ ।
यमन
युद्धग्रस्त देश यमनमा पनि कोरोनाभाइरस देखिएको छैन । त्यहाँ भोक र गरीबीले नै लाखौं मानिसको ज्यान गइसकेको छ । देशको जनसंख्या तीन करोड छ ।
बुरुन्डी
वन्यजन्तु, जंगल र हरियालीका लागि प्रसिद्ध अफ्रिकी मुलुक बुरुन्डीमा पनि कोरोनाभाइरसको केस देखिएको छैन ।
मालावी
पूर्वी अफ्रिकामा रहेको मुलुक मालावी वन्यजन्तु, जंगल र तटहरूका लागि प्रसिद्ध छ । त्यहाँ पनि कोरोना देखिएको छैन ।
लेसोथो
हिउँले ढाकेका पहाड र वन्यजन्तु आरक्षका लागि प्रसिद्ध लेसोथो पनि कोरोनाभाइरसबाट अहिलेसम्म मुक्त छ ।
कोमोरोस
यस अफ्रिकी मुलुकमा ज्वालामुखीय टापुहरू छन् । मानिसहरू यसलाई पर्फ्युम आइल्यान्ड पनि भन्छन् किनकि त्यहाँ सुगन्धित रुख भेटिन्छन् । त्यहाँ पनि कोरोनाको केस देखिएको छैन । एजेन्सी