कोरोनामुक्त देश घोषणा गर्यो उत्तर कोरियाले

कोरोनामुक्त देश घोषणा गर्यो उत्तर कोरियाले

२० चैत (काठमाण्डौं)
उत्तर कोरियाले देशमा कोरोना भाइरसको एकजना पनि बिरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोनामुक्त देश घोषणा गरेको छ ।
विश्वमा झन्डै एक मिलियन (१० लाख) मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । ४७ हजारको मृत्यु भइसकेको छ । विश्वका प्रायः सबैजसो देशमा यसको संक्रमण फैलिइसकेको छ । यो अवस्था उत्तर कोरियाले भने आफ्नो देशमा भाइरस संक्रमित एकजना पनि नभेटिएको बताएको हो ।
उत्तर कोरियाको इपिडिमियोलोजी विभागका प्रमुख पाक म्योङ सुले समाचार संस्था एएफपीसँग महामारीको रोकथाम गर्न गरिएका प्रयासहरू पूर्णरुपमा सफल भएको बताए । उनले सीमा बन्द, विदेशबाट आउने सबैजनालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने, हरेक नागरिकको निगरानी गरेर राज्यले नै उपचार गर्नेजस्ता कार्यहरु गरेका कारण पनि यो महामारी फैलिन नपाएको बताएका छन् ।
उत्तर कोरियाले छिमेकी चीनमा गत जनवरीमा कोरोना भाइरसको प्रकोप बढेको समाचार आएपछि आफ्ना सबै सीमाहरु बन्द गरेको थियो । सीमा बन्द गरेर देशभित्र पनि यसबाट बच्ने उपायका बारेमा कडा कानूनहरु लागू गरेको बताइएको छ ।
उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामा भाइरससम्बन्धी केही न केही भएको बताउँदै आएका छन्। कोरियालाई यस्तो महामारीका विरुद्धमा मिलेर लड्न र आवश्यक परे अमेरिकी सहयोग लिन राष्ट्रपति ट्रम्पले एक पत्र पठाएका थिए । तर त्यस विषयमा उत्तर कोरियाको जवाफ भने नआएको अधिकारीहरु बताउँछन् ।
अकोतिर, विज्ञहरुले कमजोर स्वास्थ्य प्रणालीका कारण उत्तर कोरिया भाइरसको उच्च जोखिममा रहेको बताउँदै आएका छन् । उनीहरुले कोरियाली सरकारले भाइरसबारेको अवस्था ढाकछोप गरिरहेको पनि आरोप लगाएका छन् ।