कृषकलाई अभिमुखीकरण
सुदीप थापा, २१ पुस (भजनी)
रसायनिक मलको प्रयोगले माटोको उर्वराशक्ति घट्दै गएको भन्दै साल्ट ट्रेडिङ कर्पोरेशनको धनगढीस्थित प्रदेश कार्यालयले कृषकहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ ।
कैलालीका विभिन्न ठाउँमा पुस मसान्तसम्म मलको प्रयोगलाई व्यवस्थित बनाउन साल्ट ट्रेर्डिङले अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ । अभिमुखीकरणका लागि साल्ट ट्रेडिङले कृषि तथा मल विज्ञका रुपमा भगवान खतिवडालाई सुदुरपश्चिम बोलाएको छ । कार्यक्रममा खतिवडाले माटोको परीक्षण गरी माटोको गुणस्तर जाच्नुपर्ने बताए । जाँचगरी सकेको माटोमा कुन तत्व आवश्यक छ, त्यसैअनुरुप युरिया, डिएपी, पोटास आवश्यक मात्रामा प्रयोग गर्नु पर्ने उनको सुझाव छ । किसानले मलको उचित प्रयोग गरेमा मलको पनि बचत हुने र खेतीपाती पनि सप्रिने उनले किसानहरुलाई जानकारी दिए ।
सोमबार भजनी नगरपालिकाबाट सुदूरपश्चिम प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिनिता चौधरीले उद्घाटन गरेकी हुन् । मलको उचित प्रयोग गर्न कृषकले जान्नु पर्ने र आधुनिक कृषि प्रणाली अवलम्वन गर्नु पर्नेमा मन्त्री चौधरीले जाड दिइन् ।

