कसरी चल्छ पार्टी यसैगरि

कसरी चल्छ पार्टी यसैगरि

अध्यक्षबीच दरार

९ कार्तिक (सुर्खेत)
अघिल्लाे महिना मात्र लामै रस्साकस्सीपछि ठूलै खड्काे टरेर मेलमिलाप भएकाे ठानिएकाे नेकपामा अहिले कर्णाली प्रदेशकाे अविश्वासकाे प्रस्ताव प्रकरण र काठमाण्डाैबाट प्राप्त अलगअलग लिखित निर्देशन र नतिजाले पार्टीभित्र नेतृत्काे अविश्वासकाे अवस्था छताछुल्ल बनाइदिएकाे छ । अविश्वास प्रस्तावकर्ताले कर्णालीको आन्तरिक मुद्दाको कारण नेकपाको राष्ट्रिय राजनीति यसरी तरंगित होला भन्ने सायदै सोचेका थिए । उनीहरु प्रस्ताव दर्ता गरेको दोस्रो दिनमै (असोज २७ गते) बैठक आह्वान गरी टुंग्याउने तयारीमा थिए । तर, अविश्वासको प्रस्तावले एकाएक कर्णालीको भौगोलिक सीमा नाघेर काठमाडौंमा हलचल ल्यायो । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले असोज २९ गतेको लागि दुवै पक्षलाई काठमाडौं बोलाए ।
सुरुमा सहजै मिलाउन सकिने आँकलनसहित बोलाइएको भए पनि यसले दुई अध्यक्षबीच नै दरार ल्याइदियो । गुट–उपगुट जे जति भए पनि नेकपाको अन्तरिम विधान–२०७५ ले दुई अध्यक्षलाई मूल नेतृत्व मानेको छ । विधानको धारा १८ (झ) ७ मा ‘पार्टीका आधिकारिक निर्देशन र पत्राचारमा दुवै अध्यक्षले वा आपसी सल्लाहमा एक अध्यक्षले हस्ताक्षर गर्ने’ उल्लेख छ । कर्णालीको विवाद समाधान हेतु असोज २७ गते पठाइएको पत्रमा दुवै अध्यक्षले हस्ताक्षर गरेका भए पनि पछिल्ला दुई निर्देशन भने आपसमा बाझिने गरी एकल हस्ताक्षरबाट प्रेषित भएका छन् ।
बुधबार अध्यक्ष तथा प्रधानमन्त्रीको हैसियतमा ओलीले मुख्यमन्त्री शाहीलाई ‘प्रमुख सचेत हटाउने निर्णय फिर्ता लिई पूर्ववत जिम्मेवारीमा स्थापित गर्न’ निर्देशन दिएका छन् । त्यसको तीन दिनपछि शुक्रबार कार्यकारी अध्यक्षको हैसियतमा दाहालले पार्टीका प्रदेश इन्चार्जमार्फत् प्रदेश कमिटीलाई अर्को निर्देशन दिएका छन् । उनले अध्यक्ष ओलीसँग अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतकसम्बन्धी विषय प्रदेश पार्टी कमिटी तथा प्रदेश सरकारले समाधान गर्ने सहमति भएकोले सोहीअनुसार गर्न निर्देशन दिएका छन् । त्यसअघि दुवै अध्यक्षले मंगलबार पनि आफ्नो सचिवालयमार्फत फरक–फरक प्रेस नोट जारी गर्न लगाएका थिए । ‘अनावश्यक बेमौसमी खिचलो गरेर पार्टी एकतालाई नै संकटमा पार्ने काम भयो, यो गर्न नहुने काम थियो,’ प्रदेश सरकारका एक मन्त्रीले भने, ‘कर्णालीका केही साथीहरुको आत्मकेन्द्रित असफल बिद्रोहले अझ कस्तो संकट ल्याउने हो भन्ने चिन्ता थपिएको छ ।’