एउटा संक्रमित पत्ता लगाउन १ लाख ४ हजार खर्च

एउटा संक्रमित पत्ता लगाउन १ लाख ४ हजार खर्च

६ भदौं (काठमाण्डौं)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक संक्रमित पत्ता लगाउन राज्यको १ लाख ४ हजार खर्च हुने बताएको छ ।
शुक्रवार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एउटा संक्रमित पत्ता लगाउन राज्यले १ लाख ४ हजार खर्च गर्ने बताएका हुन् ।
उनले अहिलेसम्मको पीसीआर परीक्षण ५ लाख ७९ हजार ८९९ रहेको र प्रतिपरीक्षणमा ५ हजार ५ सय खर्च हुँदा हालसम्म टेस्टमा मात्र ३ अर्ब, १८ करोड, ९४ लाख, ४४ हजार ५ सय खर्च भएको हिसाबकिताब प्रस्तुत गरे ।
उनले ल्याब टेस्टमा मात्र त्यति खर्च भएको बताएका हुन् । तर हालसम्म नेपालमा ३० हजार ४३८ व्यक्ति संक्रमित भेटिएका छन् । परीक्षणको खर्चको हिसाब गरेर एउटा संक्रमित पत्ता लगाउन सरकारले १ लाख ४ हजार ६ सय ३० खर्च भएको डा. गौतमले जानकारी दिए ।
उनले संक्रमण पत्ता लगाइसकेपछिको उपचार झन् खर्चिलो हुने बताए । ‘एउटा व्यक्तिलाई ३० दिनसम्म आइसीयुमा राखियो भने नेपाल सरकारले ४ लाख ५० हजार खर्च गर्नुपर्ने हुन्छ,’ उनले भने । डा. गौतमले यो सबै प्रक्रिया एकदम खर्चिलो भएकाले सबैलाई घरभित्रै रहन आग्रह गरे ।