उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन
स्थानीय तह निर्वाचनका उम्मेदवारहरूले नाम फिर्ता लिने आज अन्तिम दिन हो । नाम फिर्ता लिन चाहनेहरू बेलुकी ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने आयोगले बताएको छ । राजनीतिक दलहरूले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन दबाब दिँदै आएका छन् ।
प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार अपिल जारी गर्दै बागी उम्मेदवारी फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई निर्वाचनमा सहयोग गर्न आग्रह गरेका छन् । विपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि बागी उम्मेदवारी दिएका नेताहरूलाई फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई निर्वाचनमा जिताउन आग्रह गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले पनि ललितपुरलगायत जिल्लाका नेताहरूलाई फोन गरेर बागी उम्मेदवारी फिर्ता गर्नुपर्ने र तालमेलको मर्म बुझिदिन अपिल गरेका छन् । पार्टीले तय गरेका उम्मेदवारप्रति असन्तुष्ट जनाउँदै ठाउँठाउँमा सत्ता गठबन्धनदेखि विपक्षी दल एमालेसहित दलका स्थानीय नेता कार्यकर्ताहरूले ११ र १२ वैशाखमा आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिएका छन् ।
आधिकारिक उम्मेदवारलाई जिताउन चुनौती हुने दलहरूको ठम्याइ छ । सोही कारण सम्बन्धित दलका नेताहरूले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन दबाब दिइरहेका छन्। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले तोकिएको अवधिमा फिर्ता लिनेबाहेकका अन्तिम नामावली शुक्रबार नै प्रकाशन गरिने बताएका छन् । त्यसपछि शनिबार भने उनीहरूले निर्वाचन चिह्न नै प्रदान गरिने जानकारी दिए ।