उदयपुरको त्रियुगाका ८२ पदमा ३८० उम्मेदवार, मेयरमा मात्रै १३ जना

उदयपुरको त्रियुगाका ८२ पदमा ३८० उम्मेदवार, मेयरमा मात्रै १३ जना

१३ वैशाख, उदयपुर । उदयपुर जिल्लाको सबैभन्दा ठूलो नगरपालिका त्रियुगामा ८२ पदका लागि ३८० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिस दिपक खनालका अनुसार विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट नगर प्रमुखको एक पदका लागि १३ जना, उपप्रमुख १ पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी १६ वडाको १६ जना वडाध्यक्षका लागि ९१ जनाको उम्मेदवारी परेको छ ।

१६ जना महिला सदस्यका लागि ६६ जना, १६ दलित महिला सदस्यका लागि ६४ जना र ३२ सदस्यका लागि १३५ जनाको उम्मेदवारी परेको छ ।

६० हजार ४६ जना मतदाता रहेको त्रियुगा उदयपुरकै सबैभन्दा ठूलो नगरपालिका हो । जनसंख्या, भुगोल तथा जिल्ला सदरमुकाम रहेको हिसावले पनि यहाँ जनप्रतिनिधि बन्ने आकांक्षी बढी भएका हुन् ।

माओवादी र एकीकृत समाजवादीको गठबन्धन

सत्तारुढ गठबन्धनले तालमेलको गर्ने भने पनि यहाँ गठबन्धनको नेतृत्वकर्ता कांग्रेसले अलग उम्मेदवार उठाएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनबाट नगरप्रमुख उम्मेदवार बलदेव चौधरी एकीकृत समाजवादी छन् ।

गठबन्धन तोडेर नेपाली कांग्रेसले वसन्त बस्नतेलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेबाट भागवत राउत मैदानमा छन् ।

उपमेयरमा माओवादीबाट गीता खड्का कार्की, एमालेबाट महेश्वरी राई र नेपाली कांग्रेसबाट सरिता राईले उम्मेदवारी दर्ता गरेका छन् ।

उपमेयरका अन्य उम्मेदवारहरूमा जसपाका विनोदकुमार चौधरी, राप्रपाका रामवती चौधरी, राप्रपा नेपालका गंगादेवी विश्वकर्मा, लोकतान्त्रिक समाजवादी नेपालका वसन्तीदेवी झा र सचेत नेपाली पार्टीका मन्दिरा बुढाथोकी रहेका छन् भने स्वतन्त्र उपप्रमुख उम्मेदवारहरुमा रामकिसन सदा, सावित्रा थापा र राजन ढकाल छन् ।