आयल निगमलाई एक बर्षमै ८ अर्ब ७५ करोड नाफा
१ माघ (काठमाण्डौं)
कुनै समय निकै घाटा व्यहोरेर डुब्ने अवस्थामा पुगेको नेपाल आयल निगममा
केही वर्षदेखि नाफा बिस्तारै उकालो लाग्न थालेको छ । निगमले आर्थिक वर्ष २०७५÷७६ मा ८ अर्ब ७५ करोड (करपछिको) मुनाफा आर्जन गरेको छ ।
निगमले अघिल्लो आर्थिक बर्षमा ३ अर्ब ५८ करोड नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा निगमको कारोवार पनि करीब २५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७४÷७५ मा कूल एक खर्ब ९५ अर्बको पेट्रोलियम कारोवार गरेको निगमले गत आवमा आइपुग्दा आफ्नो व्यापार बढाएर २ खर्ब ४६ अर्ब पु¥याएको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घट्दै जानु, निगमको व्यवस्थापकीय सुधार, स्वचालित मूल्य प्रणालीका कारण निगमको वित्तीय स्थिति सकारात्मक दिशातर्फ अग्रसर भएको निगमले जनाएको छ । अहिलेको बिक्री मूल्यमा निगमलाई पेट्रोलमा प्रतिलिटर रु तीन, डिजेलमा रु चार, हवाई इन्धनमा रु १० नाफा छ भने एलपी ग्यासमा प्रतिसिलिन्डर रु १६२ घाटामा रहेको छ ।
पेट्रोलियम पदार्थ भारतमा भन्दा १८ रुपैया नेपालमा सस्तो छ । निगमले प्रतिलिटर ११०, डिजेल र मट्टीतेल प्रतिलिटर १००, अन्तराष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर एक हजार अमेरिकी डलर र आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर ९४.५० तथा एलपी ग्यास प्रतिसिलिन्डर रु एक हजार ३५० बिक्री मूल्य तोकेको छ ।
पेट्रोलियम आयात पनि करिब १० प्रतिशतले वृद्धि भएको छ । आव २०७४÷७५ मा २६ लाख ७० हजार ८८६ किलोलिटर पेट्रोलियम आयात भएकामा गत आवमा २९ लाख ३८ हजार ९३० किलोलिटर पुगेको छ । निगमले गत आवमा मात्रै सरकारी कोषमा ६५ अर्ब राजश्व दाखिला गरेको छ । अघिल्लो आवमा निगमले करीब ५५ अर्ब राजश्व सरकारलाई बुझाएको थियो ।