आफ्नो पक्षमा ४० प्रतिशत रहेको माधव नेपाल पक्षको दावी, एकता कार्यदलमा नेताले गरे अध्यादेशको आलोचना

आफ्नो पक्षमा ४० प्रतिशत रहेको माधव नेपाल पक्षको दावी, एकता कार्यदलमा नेताले गरे अध्यादेशको आलोचना

काठमाडौं, भदौं १ । सरकारले दल विभाजन अध्यादेश ल्याएपछि विभाजनको डिलमा पुगेको नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले आफ्नो पक्षमा ४० प्रतिशत मत रहेको निचोड निकालेको छ ।

काठमाडौंको बानेश्वरस्थित एक होटलमा भएको नेपाल समूहको बैठकमा नेताहरुले दल विभाजन अध्यादेश र त्यसपछिको रणनीतिबारे छलफल गरेका थिए ।

बैठकपछि नेता विरोध खतिवडाले ओलीको जालझेलका विषयमा छलफल गरेको भन्दै रातिसम्म सुध्रिएर आए नयाँ बाटो नहिँड्ने अन्यथा राजनीति जाम भएर बस्दैन भन्ने प्रतिक्रिया दिनुभयो ।

खतिवडाले आफूहरुसँग ४० प्रतिशत सांसद रहेको दाबी गर्दै महन्थ ठाकुरका लागि सहज बनाइदिन २० प्रतिशतको व्यवस्था गरिएको पनि बताउनुभयो ।

उता, सरकारले ल्याएको अध्यादेशको नेपाल पक्षकै एकता वार्ता कार्यदलमा रहेका नेता गोकर्ण बिष्टले दल विभाजन अध्यादेश प्रतिगामी रहेको भन्दै फिर्ता लिन दबाब दिन अपील गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद्ले २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यको समर्थनमा दल विभाजन गर्न पाइने गरी अध्यादेश ल्याउने निर्णय गर्नु खेदजनक रहेको र यसले दुःखद परिणाम ल्याउने चेतावनी दिनुभएको हो।

दलभित्र उत्पन्न हुने अन्तरविरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढंगले समाधान खोज्नुको सट्टा विभाजनलाई प्रोत्साहित गर्नु गलत भन्दै उहाँले अध्यादेश ल्याउने निर्णय प्रतिगामी भएकाले फिर्ता लिन दबाब दिनुपर्ने उल्लेख गर्नुभयो ।

दल विभाजन गर्ने विषयमा नेपाल समूहमा एकमत बन्न सकेको छैन । नेताहरु भीम रावल, घनश्याम भुषाल, विष्ट, भीम आचार्य, योगेश भट्टराईलगायत विभाजनभन्दा कुने न कुनै बाटो खोजेर एकता गरिनुपर्नेमा रहनुभएको छ ।