अमेरिकी दूतावास अगाडि एमसीसीको विरोधमा प्रदर्शन

अमेरिकी दूतावास अगाडि एमसीसीको विरोधमा प्रदर्शन

काठमाडौँ। ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ ले एमसीसीको विरोधमा नेपालस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गरेको छ ।

शुक्रबार दूतावासको निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले अभियानका १० जना युवालाई पक्राउ गरेको छ ।

उनीहरुले नेपाललाई एमसीसी चाहिँदैन भन्ने सन्देश दिँदै प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

गत वर्ष असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसिसी अझै पारित हुन सकेको छैन। परियोजनाले अमेरिकी हस्तक्षेप बढाउने भन्दै विरोध हुँदै आएको छ ।

अमेरिकाले पाँच वर्षभित्र जलविद्युत् र सडकमा लगानी गर्ने गरि परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्दैछ। तर सो परियोजना देश हितमा नरहेको भन्दै विरोध प्रदर्शन भएको हो ।

याे पनि समाचार, सत्ता गठबन्धनका दलहरुभित्र खटपट सुरु भएको छ । उनीहरुबीच विदेशीलाई हेर्ने दृष्टिकोण र विदेशसम्बन्धलाई असर पार्ने खालका पछिल्ला कदमहरुका कारण खटपट सुरु भएको हो ।

नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी अगाडि बढाउन सक्रियता बढाएका छन् ।

एमसीसीका अधिकारी नेपाल भ्रमणमा आउँदै छिन् । एमसीसी पारित गर्न सहमतिका लागि देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निकटता बढाएर छलफल थालेका छन् ।

देउवाको यो भूमिकाबाट सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झस्किएका छन् । प्रचण्ड एमसीसीसँग सहमत छैनन् । उनी यथास्थितिमा एमसीसी पारित गर्न नहुने अडानमा छन् ।

सत्ता गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विना संशोधन एमसीसी पारित गर्न नहुने अभिव्यक्ति दिइसकेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव यसबारे मौन छन् ।

देउवाले विदेश सम्बन्धमा असर पर्ने गरी अर्को कदम चालेका छन् । उत्तरी छिमेकी चीनले चार जिल्लामा मिचेको भनिएको भूमिबारे अध्ययन गर्न नेपाल चीन सीमा विवादबारे अध्ययन समिति नै गठन गरेका छन् ।

समिति गठन गरेपछि चीनले सीमा मिचेको छैन भन्ने केपी शर्मा ओली नेतृत्वको सरकारको निष्कर्षलाई चुनौती बनेको छ । यसले एमाले अप्ठ्यारोमा परेको छ ।

देउवा निकट काँग्रेस नेता जीवनबहादुर शाहीले चुनौतीका साथ चीनले सीमा मिचेको बताउँदै आएका छन् । शाहीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रतर्फ संकेत गर्दै चीनको डरले सीमा मिचेको भन्न नसकेको आरोप लगाएका छन् ।

उनले ऋषि धमलासँग रेडियो नेपाली नेटवर्कसँग कुरा गर्दै भने, ‘चीनले सीमा मिचेको छैन भन्ने नेतालाई मेरै खर्चमा हेलिकोप्टरमा राखेर मिचेको भूमि देखाइदिन्छु ।’ यसरी काँग्रेस सीमाबारे आक्रामक बनेको छ ।

देउवा नेतृत्वको सरकारमा माओवादी पनि हुनु र चीनसँगको सीमाको विषय जोडतोडले उठ्नुले प्रचण्ड असन्तुष्ट बनेका छन् । उनले देउवासँग यसबारे असन्तुष्टि पोखिसकेको बुझिएको छ । यसले देउवा र प्रचण्डबीच खटपट सुरु भइसकेको छ ।

देउवा सरकारले चीनले चार जिल्लामा मिचेका भूमिको खोजबिन सुरु गर्नुलाई अर्थपूर्ण मानिएको छ । हुम्ला, रसुवा, सिन्धुपाल्चोक र संखुवासभा गरी ४ जिल्लाका ११ वटा स्थानमा चीनले भूमि मिचेको विगतमा कृषि मन्त्रालयको रिपोर्टमा उल्लेख छ ।

विशेषगरी नदी क्षेत्रमा भूमि मिचिएको उल्लेख छ । चीनले सीमा मिचेर हुम्लामा भवनहरु नै बनाएको छ । तर, उक्त भूमि आफ्नो दाबी गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार यसमा मौन मात्र नबसी चीनलाई लाभ हुने गरी बचाउसहित विज्ञप्ति नै जारी गर्न पुग्यो ।

अहिलेको सरकारले सीमा समस्याबारे अध्ययन समिति नै बनाएपछि विगतमा चीनले भूमि मिचेको छैन भनी बचाऊ गर्ने पक्ष अप्ठ्यारोमा परेका छन् ।

तीमध्ये अहिलेका सत्ता गठबन्धनका दलहरु पनि थिए । अहिलेको देउवाको कदमले सत्ता गठबन्धनमा दलहरुको झुकाव फरक देशहरुतिर रहेको तर्कवितर्क समेत भएका छन् ।

यसले गठबन्धन भत्कनेसम्मको खतरा बढेको टिप्पणीहरु हुन थालेका छन् ।