अमेरिकालाई पछि पार्दै चीन बन्यो युरोपेली सङ्घको सबैभन्दा ठूलो व्यापार साझेदार
काठमाण्डाै – सन् २०२० मा अमेरिकालाई पछि छोड्दै चीन अब युरोपेली सङ्घ (ईयू) को सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ ।
कोरोना भाइरसको महामारीका कारण युरोपका प्रमुख साझेदार देशहरुबीच व्यापार घटे पनि चीनसँग भने व्यापार घाटा नभएकाे हाे ।
गएकाे वर्ष अर्थात् सन् २०२० मा चीन र युरोपेली सङ्घबीचको व्यापार सात सय नाै अर्ब डलर रहँदा यसको तुलनामा युरोपेली सङ्घसँग अमेरिकाको व्यापार सन् २०२० मा ६ सय ७१ अर्ब डलर रह्यो ।
यद्यपि चीनको अर्थव्यवस्था कोरोना महामारीका कारण पहिलो त्रैमासिकमा खराब भएको थियो तर वर्षको अन्त्यरित आर्थिक स्थिति सुधारिँदै जाँदा युरोपेली सङ्घको माग बढ्यो ।
सन् २०२० मा विश्वका प्रमुख अर्थव्यवस्थामध्ये चीनमा मात्रै आर्थिक वृद्धि देखिएको थियो । यही कारण चीनमा युरोपेली कार र विलासी (लग्जरी) सामानहरुको माग बढ्यो ।
यसबीच मेडिकल उपकरणहरु र विद्युतीय सामानहरुको पनि माग बढ्दा युरोपमा निर्यात गर्दा चीनलाई फाइदा पनि भयो ।
युरोपेली सङ्घको तथ्याङ्क कार्याल युरोस्टेटका अनुसार सन् २०२० मा चीन युरोपेली सङ्घको प्रमुख साझेदार थियो । आयात (५.६ प्रतिशत) र निर्यात (२.२ प्रतिशत) बढ्दा यस्तो नतिजा आएको हो ।
युरोपेली सङ्घको आँकडा जनवरीमा चीनले जारी गरेको आधिकारिक आँकडासँग मिल्दोजुल्दो छ । चीनका अनुसार सन् २०२० मा युरोपेली सङ्घको व्यापारमा ५ दशमलव ३ प्रतिशत वृद्धि भएको छ र यो बढेर ६९६ बिलियन डलर भएको छ ।
गएको सोमवार जारी गरिएको युरोस्टेटको आँकडाअनुसार चीनसँग युरोपेली सङ्घको व्यापार घाटा पनि १९९ बिलियन डलरबाट बढेर २१९ बिलियन डलर भएको छ ।
यद्यपि अमेरिका र बेलायत अझै पनि युरोपेली सङ्घको निर्यातका सबैभन्दा ठूलो बजार बनेको छ । तर आँकडाअनुसार दुई देशसँग ईयूको व्यापारमा ठूलो गिरावट आएको छ ।
युरोस्टेटका अनुसार अमेरिकासँगको व्यापारमा ठूलो गिरावट आएको छ र यो गिरावट आयात (- १३.२ प्रतिशत) र निर्यात (- ८.२ प्रतिशत) दुवैमा आएको छ ।
स्टिल र फ्रेन्च कोन्याकका साथै अमेरिकी हार्ले डेभिडसन मोटरसाइकलमा शुल्क लगाइएपछि यस्तो अवस्था आएको हो ।
सन् २०२० मा युरोपेली सङ्घसँग अमेरिकाको व्यापार ६७१ बिलियन डलर थियो भने त्योभन्दा अघिल्लो वर्ष ७४६ बिलियन डलर थियो ।