अमिषा पटेलविरुद्ध पक्राउ पुर्जी
बलिउड अभिनेत्री अमिषा पटेलविरुद्ध पक्राउपुर्जी जारी भएको छ । चेक बाउन्सको अरोपमा राँची अदालतले उनलाई पक्राउ गर्न आदेश दिएपछि पुर्जी जारी गरिएको थियो ।
फिल्म निर्माता अजय कुमारले दुई करोड ५० लाख रुपैयाँ भारूको चेक बाउन्सको आरोप लगाएसँगै अदालतले अभिनेत्री पटेललाई पक्राउ गर्न आदेश दिएको छ । अदालतको आदेशपछि राँची प्रहरी अभिनेत्री पटेललाई पक्राउ गर्न मुम्बई आउने भारतीय सञ्चार माध्यमले जनाएका छन् । ‘अभिनेत्री पटेल र उनको व्यवसायिक साझेदार कुनालले फिल्म बनाउने भन्दै साढे दुई करोड लिएका थिए ।
उनीहरूले सन् २०१८ मा फिल्म रिलिज भएपछि रकम फिर्ता गर्ने वाचा गरेका थिए । उनीहरू कहिल्यै फिल्म रिलिज गरेनन् । अभिनेत्री पटेलले मलाई तीन करोडको चेक दिएपनि त्यो बाउन्स भएको थियो,’ निर्माता अजय कुमारले भने, ‘अभिनेत्री पटेल र उनको व्यवसायिक साझेदार कुनालले मेरो फोन उठाउन छाडेपछि ठगिएको महसुस गरेपछि उजुरी दिएको थिए ।’
सन् २०१८ मा ‘देसी म्याजिक’ फिल्म निमार्णको लागि अभिनेत्री पटेलले ऋण मागेको उनले बताए । फिल्मले व्यापार गर्न असफल भएपछि अभिनेत्री पटेलले साढे दुई करोडको चेक दिएकी थिइन् । अभिनेत्री पटेलले दिएको चेक बैंकले अस्वीकार गरेको थियो जहाँ उनले तीन करोड रुपैयाँ राखिदिने प्रतिवद्धता दिएकी थिइन् ।
गत असारको अन्तिम साता नेपाल आएकी अभिनेत्री पटेलले पक्राउपुर्जीविरुद्ध कुनै प्रतिक्रिया नदिएको भारतीय सञ्चार माध्यमले जनाएको छ । भैरहवास्थित टाइगर प्यालेस रिसोर्टमा आयोजित सांगीतिक कार्यक्रममा भाग लिएकी अभिनेत्री पटेलद्वारा अभिनित पछिल्ला फिल्महरूले व्यापारिक सफलता पाउन सकेका छैनन् ।