अख्तियारमा सुदूरपश्चिमका १ हजार ७७ उजुरी
२८ पुस (धनगढी)
अख्तियार दुरुपयो अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले सोमबार प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई बुझाएको बार्षिक प्रतिवेदन अनुसार गत आर्थिक बर्ष ०७५÷०७६ मा सुदूरपश्चिममा कूल १ हजार ७७ उजुरी आएका जनाएको छ ।
तीमध्ये ६१० उजुरी फछ्र्यौट भएको र बाँकी ६६७ उजुरीको जिम्मेवारी चालु आर्थिक वर्षमा सरेको जनाइएको छ । फछ्र्यौट गरेको उजुरीमध्ये २७२ वटा उजुरीमा प्रारम्भिक छानविन तामेली, ३० वटा उजुरीमा सुझावसहित तामेली गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी, ६३ वटा उजुरीमा विस्तृत अनुसन्धान गर्ने निर्णय भएको र २४५ वटा उजुरी अन्य आवश्यक कारबाहीका लागि लेखी पठाएको जनाइएको छ । आयोगले गत आर्थिक वर्षमा कैलालीमा चार र कञ्चनपुरमा तीन वटा स्टिङ अपरेशन गरेको थियो । अख्तियारको कार्यालयले वार्षिक प्रतिवेदनमार्फत प्रदेश र स्थानीय सरकारलाई विभिन्न सुझाव पनि दिएको छ । प्रदेश सरकारलाई भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि प्रदेश–प्रदेशबीच समन्वय र असल अभ्यास गर्न, भ्रष्टाचार जोखिम मूल्यांकन र न्यूनीकरण गर्न आयोगको सुझाव छ ।
यस्तै, वित्तीय समानीकरण, सशर्त अनुदान कार्यान्वयनका वस्तुपरक कार्य्विधि तर्जुमा र कार्यान्वयन गर्न, यातायात कार्यालय, अस्पताल जस्ता निकायमा सेवा प्रवाह व्यवस्थापन गर्न सुझाव दिएको छ । यसैगरी, भ्रष्टाचार नियन्त्रण तथा सुशासनमैत्री कानुनको तर्जुमा, प्रदेश लोकसेवा आयोगको गठन तथा योग्यता प्रणालीका आधारमा कर्मचारी नियुक्ती गर्न सुझाव आयोगले प्रदेश सरकारलाई दिएको छ ।
आयोगले बजेट तर्जुमा, स्वीकृति, कार्यान्वयन र लेखाङ्कनमा कानुनको पालना गर्न, सार्वजनिक निर्माण र खरिदमा स्वच्छता कायम गर्न स्थानीय सरकारलाई आयोगको सुझाव रहेको छ । स्थानीय सार्वजनिक÷सरकारी जग्गाको संरक्षण र अभिलेखीकरण गर्न लगायतको स्थानीय सरकारलाई आयोगले सुझाव पनि दिएको छ ।